
काठमाडौं– रामेछापको लिखु तामकोशी गाउँपालिका–५ की २८ वर्षीया पर्मिला दमाइ नियमितजसो स्थानीय एफएमहरु सुनिरहिन्थिन्। दोलखाको एउटा स्थानीय एफएमबाट प्रसारण हुने ‘साथी बनाउने कार्यक्रम’ उनलाई सबैभन्दा मन पर्ने। कार्यक्रममा फोन गरेर नयाँ–नयाँ साथी बनाउन पाइने भएर पनि उनी नबिराइ उक्त कार्यक्रम सुन्थिन्।
२०७९ सालको मंसिरतिर, सोही एफएम कार्यक्रममा उनले एक जना पुरुषसँग संवाद गरिन्। संवाद सौहार्दपूर्ण रह्यो। त्यसपछि पनि उनीहरुबीच सोही एफएमको कार्यक्रममार्फत् कुराकानी भयो। एफएमको कार्यक्रममा बाक्लै कुराकानी हुन थालेपछि दुवै जनाबीच चिनजान पनि भयो।
एफएमको कार्यक्रममार्फत् चिनजान भएका पुरुष थिए, दोलखाको वैतेश्वर गाउँपालिका–७ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठ। दुवैले आ–आफ्नो व्यक्तिगत नम्बर साटासाट गरे। कहिले फोन त कहिले फेसबूक लगायत सञ्चालमार्फत् निरन्तर कुराकानी हुन थाल्यो। बिहान सबेरदेखि राति अबेरसम्म चलिरहने कुराकानीको सिलसिलाले दुवैको सम्बन्ध झन् प्रगाढ बन्न थाल्यो। र दुवैले निष्कर्ष निकाले– अब भेट्नु पर्छ।
भेटघाटका क्रममा दुवै जनाले आ–आफ्नो व्यक्तिगत र परिवारिक अवस्था तथा अनुभव एक–अर्कासँग साटे। दुवैले आ–आफ्ना छोरा–छोरीहरु रहेको बताए। दुवै जना विवाहित, तर एक–अर्कासँग विवाह इतरको प्रेममा परे।
पर्मिला श्रीमान् नसे दमाइसँगै बस्थिन्। तर कुमारसँगको प्रेमले श्रीमान्सँग भने उनको खटपट बढ्न थाल्यो। पर्मिला र कुमारको प्रेम जति गाढा बन्दै थियो त्यति नै कलह परिवारमा बढ्दै थियो। पारिवारिक विवाद उग्र बन्दै गएपछि दुवै पक्ष गत मंसिरमा प्रहरी कार्यालयसम्म पुगे। परिवारको दबाबपछि पर्मिला र कुमारले रामेछापको धोबीडाँडा इलाका प्रहरी कार्यालय पुगेर ‘आगामी दिनमा गल्ती नदोहोर्याउने’ प्रतिबद्धतासहित मिलापत्र गरे।
श्रीमतीको विवाहेत्तर सम्बन्धले दैनिकजसो पारिवारिक कलह बढ्न थालेपछि नसे दमाइले गाउँ छाड्ने निर्यण गरे। श्रीमती पर्मिलालाई लिएर उनी काठमाडौं आए। पर्मिला काठमाडौं हिँडेपछि कुमार पनि दोलखा बसेनन्। अध्ययनका लागि काठमाडौंमा बस्ने आफ्नी छोरीसँगै बस्न आए।
काठमाडौंमा पनि दुवै जनाको भेटघाट भयो। काठमाडौंमा भेटघाट बाक्लिन थालेपछि दुवै जनाले विवाह गर्ने निष्कर्ष निकाले। त्यसपछि पर्मिला श्रीमान् नसेलाई छाडेर कुमारसँगै गइन्। दुवै जना गत पुसदेखि भक्तपुरको लोकन्थलीमा एउटा कोठा भाडामा लिएर ‘लिभिङ टुगेदर’मा बस्न थाले।
ooo
माघ २७ गते, शनिबार काठमाडौं प्रहरीको कन्ट्रोल (१०० नम्बर)मा फोन गर्दै १ जनाले गौशालाको रुन्चेडाँडास्थित सिरहा धनुषा होटल एण्ड गेस्ट हाउसमा शव भेटिएको जानकारी दिए। प्रहरी टोली पुग्दा गेस्ट हाउसको १०८ नम्बर कोठाको खाटमा घाँटीमा डोरीले कसिएको अवस्थामा १ जना महिलाको शव फेला पर्यो।
मृतकको साथमा पहिचान खुल्ने न कागजपत्र थियो, न त मोबाइल नै। प्रहरीले लजको इन्ट्री रजिस्टर हेर्यो। त्यहाँ टिपाइएको नाम, ठेगाना वास्तविक थिएन। प्रहरीले लजमा आएका गेस्टको विवरण (इन्ट्री बुक) केलाउन थाल्यो। सँगै आफन्त बोलाएर मृतकको सनाखत गरायो।
सनाखत गाराउँदै जाँदा पत्ता लाग्यो मृत फेला परेकी महिला उनै पर्मिला थिइन्। बहिनी शर्मिला र श्रीमान् नसेले पर्मिलाको सनाखत गरेका थिए।
प्रहरीले पर्मिलाको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायो। सीसीटीभी फुटेजको अध्ययन गर्दा शव फेला पर्नुभन्दा अघिल्लो दिन (माघ २६ गते, साँझ) तिर एउटा पुरुषसँग पर्मिला उक्त होटल प्रवेश गरेको देखियो।
सीसीटीभी फुटेजमा देखिएको हुलियाअनुसार अनुसन्धान गर्दा पर्मिलासँगै होटलमा प्रवेश गरेका पुरुष उनै कुमार भएको पत्ता लाग्यो। प्रहरीले कुमारलाई पक्राउ गरेर विस्तृत अनुसनधान गरिरहेको छ।
प्रहरीसँगको बयानमा कुमारले पर्मिलाको हत्या गरेको स्वीकार गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार पर्मिलाले विवाह गर्न दबाब दिन थालेपछि झगडा भएको बताएका छन्। होटलमा पुगेपछि पनि विवाहकै सन्दर्भमा विवाद बढेको कुमारले बयान दिएका छन्। पर्मिला चिच्याउन थालेपछि आफूले मुख थुनी, घाँटी कसेर हत्या गरेको भन्दै कुमारले बयान दिएका छन्।
प्रहरीले कुमारविरुद्ध अहिले कर्तव्य गरी ज्यान मारेको अभियोगमा थप अनुसन्धान गरिरहेको छ।