News Griha :: न्यूजगृह
सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा

काठमाडौं— भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।

पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुलउपर गरि नेम्वाङलाई हदैसम्मको कारबाही गर्न ध्यानाकर्षणपत्र समेत पेस गरेका छन् ।

बेलायत सरकारको नीति अन्तर्गत त्यहाँ जान कानुनी प्रक्रिया गरिदिने भनी पाँचथर घर भइ हाल लन्डनमा बस्ने नेम्वाङले आफू जस्ता दर्जनबाट विभिन्न बहानामा मनोमानी ढंगले करोडौं रुपैयाँ उठाएको १० जना पीडितहरूले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

‘हामीलाई नेम्वाङले अहिले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ । ऊ शक्तिकेन्द्र धाएर उम्किने हो कि भन्ने शंका भएकाले हाम्रो ठगिएको रकम असुल उपर गरि उसलाई हदैसम्मको सजाय गराउन माननीय मन्त्रीज्यू समक्ष यो ध्यानाकर्षण पत्र पेस गर्दछौँ,’ पत्रमा भनिएको छ ।

तीनजना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले नेम्वाङलाई सोमबार पाँचथरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा राखेको छ । नेम्वाङलाई प्रहरीले ठगी सम्बन्धी कसुरमा हिरासतमा राखेर जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

नेम्वाङ आफ्नो बाबुको काजकिरिया गर्न नेपाल आएका बेला पक्राउ परेका थिए । नेम्वाङविरुद्ध पाँचथर कै एक ३२ वर्षीया महिलाले जाहेरी दिएकी थिइन् ।

जाहेरी अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसँग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँका दरले ४ लाख ७६ हजार रुपैयाँ लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।

शुरुमा नेम्वाङले दुई दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएको जाहेरी उल्लेख छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेस भएको जाहेरी दरखास्तमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ ९१० र ९२० उल्लंघन गरि ठगी सम्बन्धी कसुर गरेको उल्लेख छ ।

आफ्ना पिताको मृत्यु भइसकेको अवस्थामा आमालाई बेलायत पुर्याएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको पनि जाहेरीमा उल्लेख छ ।

चार वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरूलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । आफूलाई २४ हजार पाउन्ड (करिब ४० लाख ६० हजार रुपैयाँ) ठगेको नेम्वाङविरुद्ध आरोप छ । दिलप्रसाद लिम्बू, उनका दुई दाजुहरू तथा एक दिदीले आफूहरू बाट नेम्वाङले २१ लाख रुपियाँ ठगेको उजुरी दिएका छन् ।

त्यस्तै रमिला राईले आफूबाट नेम्वाङले साढे ६ लाख रुपैयाँ ठगेको उजुरी दिएकी छन् । यसरी नै नेम्वाङले दर्जनौं व्यक्तिहरूबाट करोडौं रुपियाँ ठगेको पीडितहरू बताउँछन ।  पत्रपत्रिकामा खबर आएपछि अहिले थप तीन जना पीडितहरू प्रहरीमा उजुरी गर्न काठमाडौं आइपुगेका छन् ।

‘भूतपूर्व गोर्खा विधवाहरू तथा तिनका परिवारलाई सक्दो मदत गर्नुपर्नेमा झुट्टा आश्वासन दिँदै करोडौं ठगेको पीडितहरूले गुनासो गरेपछि उहाँहरूलाई न्याय दिलाउन हामीले माननीय गृह मन्त्रीज्यूलाई भेटेका हौँ । विदेशमा बसेर बसेर नेपालीलाई ठग्ने जो कोहीले पनि छुट पाउनु हुँदैन भन्ने हाम्रो माग हो,’ गोर्खा सत्याग्रहसँग आबद्ध एकजना अभियन्ता दीपक मास्केले भने । 

बेलायतको बोन्ड आडम्स् एलएलपी सोलिसिटर्स फर्ममा भूतपूर्व गोर्खा परिवारका केस लैजाने नेम्वाङले बेलायतमा समेत भूतपूर्व गोर्खा सैनिकसँग हजारौं पाउण्ड ठगी गरेको आरोप लागेको छ  । यसरी ठगी गरेको पैसाबाट नेम्वाङले फिदिमस्थित आफ्नो घरमा लिफ्ट जडान गरेका छन् भने लन्डनमा विलासी जीवन बिताउँदै आएका थिए । 

नेपाल वा बेलायतमा कुनै कानुनी अध्ययन नगरेका नेम्वाङले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एडभाइजर गार्डियन कार्यालय खोलेर भूतपूर्व गोर्खा परिवारसँग पैसा उठाउने गर्दै आएका थिए  ।

यसअघि पीडित व्यक्तिहरू नेपाल न्यूज बैंकको कार्यालयमा आएर ठगी गर्ने नेम्वाङका बारेमा जानकारी दिँदै मिडियामार्फत दबाब दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:०२
Weather Update