काठमाडौं— मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।
बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो ।
सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरूदोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन’, उनले भने, ‘आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ ।’