
विराटनगर— तीन साताको नाबालकसहित बेपत्ता भएकी महिला ताप्लेजुङमा मृत अवस्थामा भेटिएकी छन् । पाँचथरको याङवरक गाउँपालिकाकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँको शव तमोर नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा पर्ने तमोर नदी किनारमा सोमबार उनको शव भेटिएको उल्लेख गर्दै नाबालकको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान बच्चालाई खोप लगाउन भनेर घरबाट हिँडेकी उनी अबेरसम्म नफर्केपछि खोजी गरिएको थियो । खोजीका क्रममा ती महिलाले प्रयोग गरेको मोबाइल र उनका केही कपडा आइतबारै तमोर नदी किनारमा भेटिएको थियो ।
त्यसपछि ती सामान भेटिएको स्थान आसपास क्षेत्रमा स्थानीय र प्रहरी मिलेर उनको खोजी गरेका थिए । खोजीका क्रममा केही तल तमोर नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । ताप्लेजुङ प्रहरीले घटनाबारे अनुसन्धान र नाबालकको खोजी भइरहेको जनाएको छ ।