News Griha :: न्यूजगृह
२०७९ : आगलागी, भूकम्प र बाढीपहिरोकाे वर्ष

काठमाडौं— प्राकृतिक विपत्तिबाट वर्ष २०७९ मा पनि जनधनकाे ठूलाे क्षति भयाे । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार यसवर्ष (१ वैशाखदेखि २८ चैतसम्म) प्राकृतिक विपद्का घटनामा ४८२ को मृत्यु भएको छ । ३४ जना बेपत्ता भएका छन् । यस्तै, चार हजार ४४८ बहुप्रकोप घटनामा एक हजार ३२ घाइते भएका छन् भने सात हजार ३७१ परिवार प्रभावित भएका छन् । अरबौँ रुपैयाँको आर्थिक क्षति भएको छ । 

गतवर्ष विपद्का घटनाबाट ५०८ को मृत्यु भएको थियो । ७७ जना बेपत्ता भएका थिए ।

नेपाल बहुप्रकोपीय जोखिमयुक्त मुलुक हो । यहाँ बाह्रै महिना केही न केही विपद् आइलाग्छ । त्यसैले पनि विश्वमा जलजन्य प्रकोपमा ३०औँ र बहुप्रकोपीय जोखिममा नेपाल २०औँ स्थानमा पर्ने गरेको छ ।

हामी कहाँ बर्सेनि बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी, हिमपात, असिना, हुरी बतास, अतिवृष्टि, अनावृष्टि, शीतलहर, आगलागी जस्ता प्राकृतिक प्रकोपका घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको छ । 

योवर्ष पनि गतवर्षझैँ हामीले प्राकृतिक र मानव सिर्जित विपद्को सामना गरेका छौँ ।

भूकम्प

२०७२ को भूकम्पले तर्साएको हामीलाई २०७९ मा त्यही स्तरकाे विध्वंसक त हाेइन तर, भूकम्पले छाेडेन । तर, वर्षभरि औसतमा ५ रेक्टरका भूकम्प आइरहे । ५ जेठमा लमजुङमा भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यस बिहान ५ः४२ मिनेटमा ५.८ म्याग्निच्यूड र बिहान ८ः२६ मिनेटमा ४ तथ ५.३ रेक्टर स्केलका दुई भूकम्प गएको थियो । उक्त भूकम्पमा ५९७ घरको पूर्ण र एक हजार ४४१ घरमा आंशिक क्षति भएको थियो । 

यस्तै, २३ कात्तिकमा बिहानै डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो । त्यसमा छजनाको मृत्यु भएको थियो । आठजना घाइते भएका थिए भने यसबाट ६२ हजार २२८ मानिस प्रभावित भएका थिए । सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुरा जिल्लामा प्रभावित पारेको सो भूकम्पमा चार हजार ६४६ घरमा पूर्ण रूपमा र १० हजार ९११ घरमा आंशिक क्षति पुगेको थियो । यसले यी जिल्लाका १५६ विद्यालय भवन, १८ स्वास्थ्य केन्द्र, २९ सरकारी भवन, १२ सामुदायिक भवन र १८ वटा सांस्कृतिक सम्पदा संरचनामा क्षति पुगेको थियो । डोटीमा गएको भूकम्पलाई खतराको घण्टीको रूपमा समेत विज्ञहरूले हेरेका छन् । 

यस्तै, १० माघमा बाजुरालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पमा एकजनाको मृत्यु भयो । बाजुरा, बझाङ र हुम्लामा गरी ४ जना घाइते भएका थिए । सो घटनामा बाजुरामा पाँच घर पूर्ण र २१ घरमा आंशिक क्षति भएको थियो भने बझाङमा तीन घर र पाँच सरकारी कार्यालयमा क्षति पुगेको थियो । यसबाहेक पनि थुप्रै स्थानमा स–साना रेक्टर स्केलका भूकम्पहरू गएका थिए । तर त्यसले ठूलो क्षति भने गरेन । 

बाढीपहिरो

जेठको पहिलो हप्ता भूकम्पले सताइरहँदा २२ जेठदेखि मनसुन भित्रियो । जल तथा मौसम विभागले यसपालि पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको थियो । सोहीअनुसार सरदरभन्दा बढी पानी परेर ३० असोजमा मनसुन बाहिरियो । यस अवधिमा बाढी र पहिरो जस्ता मनसुनजन्य घटनामा परेर ११९ ले ज्यान गुमाए भने दुई हजार ३०५ घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे । यस्तै, ११५ घाइते र ३२ बेपत्ता भएका थिए । एक हजार १०६ आंशिक घर क्षति र एक हजार ६ पूर्ण क्षति भएको थियो । 

यस्तै, एक सरकारी कार्यालय, तीन सामुदायिक भवन, पाँच झोलुङ्गे पुल, छवटा पक्की पुल र दुई हाईड्रो पावरमा क्षति पुगेको थियो । जिल्लागत रूपमा अछामले सबैभन्दा धेरै मानवीय क्षति व्यहोर्नु पर्‍याे । यी दुर्घटनामा एक हजार ९१३ पशु चौपायाको क्षति र एक हजार ५८६ घर पूर्ण क्षति र एक हजार ७८१ आंशिक क्षति पुगेको छ । 

विपद्सँग लड्न एनडीआरआरएमएले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अघि सारेको थियो । त्यसअन्तर्गत बाढीको उच्च जोखिम रहेका २३ जिल्ला, पहिरोको उच्च जोखिम रहेका २२ जिल्लामा सातलाखका दरले र अन्य ३२ जिल्लामा पाँचलाखको दरले चार करोड ७५ लाख रुपैयाँ राष्ट्रिय विपद् व्यवस्थापन कोषबाट जिल्ला व्यवस्थापन कोषमा निकासा गरिएको थियो । 

यसैगरी, मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०७९ अनुसार विभिन्न ३५ विपद् प्रभावित जिल्लामा पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि हालसम्म १ अर्ब १२ करोड ६४ लाख ७५ हजार रुपैयाँ सरकारले निकासा गरेको थियो । तर, प्रतिकार्य भने पनि विपद्मा एनडीआरआरएमए राहत र उद्धारमा नै बढी केन्द्रित रह्यो ।

यसैगरी, असोज मध्यमा आएको बेमौसमी वर्षाले कर्णाली प्रदेशका चार जिल्ला जुम्ला, मुगु, हुम्ला र कालिकोटमा करोडौँको क्षति पुगेको थियो । 

बङ्गालको खाडी हुँदै प्रवेश गर्ने मनसुनी वायुका कारण सामान्यतया जेठदेखि असोजसम्म निरन्तर वर्षा हुने गर्छ । नेपालमा वार्षिक ८० प्रतिशत वर्षा मनसुनी वर्षाको रूपमा यसै अवधिमा हुने हुन्छ । छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुँदा विपद्को रूप लिने गरेको छ । विपद्का घटनामध्ये ४० प्रतिशत वर्षको यही चार महिनाको वर्षायाममा घट्ने गरेको एनडीआरआरएमएका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । 

आगलागी

सुख्खा मौसम सुरुसँगै आगलागीका घटना बढ्दो क्रममा छ । यस वर्ष आगलागीका दुई हजार ९४० घटना भएका छन् । जसमा १०९ जनाको मृत्यु भयो र ३८६ घाइते भए । तीन हजार ५७२ परिवार प्रभावित भएका छन् भने अनुमानित दुई अर्ब ४६ करोड ९६ लाख २१ हजार ७७५ रुपैयाँ क्षति भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा आगलागीका घटना धेरै हुने गरेका छन् । 

पछिल्लो १० वर्षमा आगलागीका घटना तेब्बर वृद्धि भएको एक अध्ययनले देखाउँछ । आगलागी तथा डढेलो लाग्नुमा ६४ प्रतिशत मानिसले जानीजानी गरेको प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘३२ प्रतिशत घटना मानिसको हेलचेक्राइँले हुने गर्छ भने ४ प्रतिशतको घटनाको कारण भने थाहा छैन ।’ यस्तै, जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटनाहरू झन् विकराल हुन सक्ने भएकोले यसतर्फ राज्यका निकाय मात्र नभइ उपभोक्ता पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

सरकारले यस वर्ष हरेक जिल्लाको विपद् व्यवस्थापन कोषमा हुनुपर्ने न्यूनतम मौज्दात रकम बढाएर हिमाली जिल्लामा १५ लाख, पहाडी जिल्लामा २० लाख र तराईका जिल्लामा २५ लाख पुर्‍याएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:०३
Weather Update