
काठमाडौं— बैतडीमा भएको जीप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८झौलेक मोडमा से१ज ७६४ नंको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस
दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।
दुर्घटनामा बझाङको केदारस्युँगाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए । दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए ।
यो पनि पढ्नुहोस
केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ । भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए ।