
काठमाडौं— मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए ।
बझाङको एकै गाउँका छ जना बाटो मै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरूको सपना बाटोमै बिलायो । जयपृथ्वी राजमार्गको खोडपे–बझाङसडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी केदारस्युँगाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको हो ।
जिप भारतसँगको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै थियो । जिपमा सवार सोही गाउँका अन्य ६ जनाले भने हामफालेर ज्यान जोगाए । ‘क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ’, जिल्ला प्रहरी कार्यालयका निरीक्षक योगेश खत्रीले भने ।
भारतको पिथौरागढमा मजदुरी गर्दै आएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङस्थित गाउँ पुग्न उनीहरूले जिप रिजर्भ गरेका थि । १२ मध्ये ६ जनाको बिसु मनाउने सपना झौलेक भीरमै बिलायो । आफूसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्ने जिपमा सवार जयसिंह बोहराले बताए । ‘सडक उकालो थियो, जिप ब्याक भएर भीरबाट खस्यो’, उनले भने, ‘जिप पछाडि पछाडि फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भीरमा खस्यो ।’
गत मङ्सिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उनीहरूले भोट खसालेर भोलिपल्ट उनीहरु रोजगारीका लागि भारतको पिथौरागढ गए । बोहोराले भने, ‘बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।’
उनीहरूले खोडपे बजारमा राति ११ बजे खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेकभिरमा दुर्घटनामा पर्यो । ‘खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो’, जयसिंहले भने, ‘राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन् ।’
६जनाको ज्यान गएपछि बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका– ५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए ।
सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिबेला घर बाहिर हुनेहरू पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक स्थानीय २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ ।भीरबाट शव निकाल्ने काम भइरहेको छ ।