
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशवश 'पर्सनल अट्याक' गर्न पुगेको बताएका छन् ।
नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए ।
सोमबार पार्टी कार्यालय चःमतीमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताए ।
‘हामीले एकअर्काविरूद्ध लड्ने होइन, बेथितिविरुद्ध लड्ने हो। तपाईँहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुने जस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टीआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईँहरूलाई घाटा हुने भयो र अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु । त्यसका लागि म क्षमा चाहन्छु । त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो । मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिनँ, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने ।
सभापति लामिछानेले जीबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टिकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
उनले ग्यालेक्सी टेलिभिजनको गुडविल शेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए। आजको पत्रकार सम्मेलनमा रवि सफ्ट रुपमा प्रस्तुत भएका थिए ।