News Griha :: न्यूजगृह
‘अखण्ड भारत’ को नक्सामा नेपाली भूभाग समेटिएको विषयमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौंभारतीय संसद्को नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।

भारतको संसद् भवनमा टाँसिएको ‘अखण्ड भारत’ नाम दिइएको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समावेश गरिएको भन्दै अधिवक्ता रामबहादुर शाहले सरकारले भारतलाई लिखित पत्राचार नगरेको र सरकारको आधिकारिक धारणा सार्वजनिक गरिपाउँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई गत पुस २३ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

भारतले गत जेठ १४ गते नयाँ संसद् भवन उद्घाटन गर्दै नेपाल र बङ्गलादेशका भूभाग समावेश गरेको थियो । बङ्गलादेशले औपचारिक रुपमा भारतलाई आफ्नो भूभाग किन समावेश गरेको भन्दै पत्र पठाएको थियो ।

तर, नेपालले यसबारेमा औपचारिक धारणा माग गरेको छैन । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको धारणा सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज समेत उठाएका थिए ।

अधिवक्ता रामबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएका हुन् । उनले भने, ‘भारत हाम्रो पुरानो मित्र हो । भारतसँगको मित्रता बढाउनुपर्छ । भारतको विरोध गर्न खोजेका होइनौँ । तर एक देशले अर्को देशको सार्वभौमिकतामा प्रभाव पार्नु हुँदैन भन्ने संवैधानिक व्यवस्था छ ।’

‘भारतीय संसद् भवनको उद्घाटन औपचारिक हो । त्यहाँ गरिएका हरेक कार्यक्रम औपचारिक हुन् । औपचारिक कार्यक्रमका क्रममा भारतले ‘अखण्ड भारत’ नक्सा भन्दै नक्सा टाँस्यो । त्यसमा नेपालको लुम्बिनी, भैरहवा र विराटनगरजस्ता ठूला क्षेत्र समावेश गरियो । यसले कस्तो सन्देश दिन चाहेको हो,’ शाहले भने ।

नेपाल सरकार यसरी चुप लागेर बसेपछि भारतले यो सबै भूमि आफ्नै हो भनेर दाबी गर्नसक्ने भएकाले सचेत रहनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘भारतले एकदुई वर्षपछि यो सबै भूभाग हाम्रो हो । लुम्बिनी हाम्रो हो । विराटनगर हाम्रो हो । कपिलवस्तु  हाम्रो हो भन्दै अन्तर्राष्ट्रिय अदालतमा दाबी गर्न सक्छ । त्यसपछि त्यो प्रमाण बन्दछ । त्यसकारण यो कुरा ठिक होइन । भारतको यस्तो कदम विरुद्धमा नेपाल छ भन्ने आभास दिलाउन सक्नुपर्यो ।’

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:३०
Weather Update