
काठमाडौं— पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साले नेपाललगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै भारत सरकारले भर्खरै उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने उनको धारणा छ ।
उनले भनेका छन्, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’