
चितवन— चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई वटा गैंडा मृतावस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैंडा मृत फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैंडा मृत भेटिएको बताए । त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैंडा मृत भएको उनी बताउँछन् । भाले गैंडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिए ।
मृतावस्थामा भेटिएका दुवै गैंडाको खाग नपलाएको तिवारीको भनाइ छ । निकुञ्जमा मृत भेटिएका दुई गैंडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १६ वटा गैंडाको मृत्यु भएको तिवारीले जानकारी दिए । यस वर्ष मृत भेटिएका गैंडामध्ये दुई वटा गैंडा चोरी शिकारीका कारण मरेका हुन् ।