News Griha :: न्यूजगृह
बरहथवा घटना : जयशङ्करलाई गोली हान्ने वरिष्ठ हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

काठमाडौं— सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले भने, ‘समितिबाट प्रतिवेदन प्राप्त भएको छ, मन्त्रीज्यूले त्यसलाई कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशङ्कर साहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।

वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । 

छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गङ्गा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।

नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन् । जयशङ्करको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच ११ बुँदे सहमति भएको छ । 

सहमति सँगै पाँच दलीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । नेपाली कांग्रेस, जसपा, लोपसा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका हुन् ।  

 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १५:०८
Weather Update