News Griha :: न्यूजगृह
जयशंकरको टाउकोमा गोली हान्ने वरिष्ठ हवल्दार जिल्ला तानिए, निलम्बनको तयारी  

काठमाडौं— सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन् । हवल्दार यादव इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत थिए ।

 शुक्रबार दिउँसो प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद भएर झडप हुँदा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । उनको टाउकोमा गोली लागेको छ । 

उनको शव तीन दिनदेखि घटनास्थल मै छ । घटना हुँदा प्रहरीले गोली चलाएको भएपनि जिल्ला प्रशासन कार्यालयले भने गोली चलाउन कुनै आदेश नै नदिएको बताउँदै आएको छ ।  उक्त घटनापछि यसबारे थप बुझ्न यादवलाई जिल्ला तानेर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालले जानकारी दिए ।  

‘मेयरको घरतिर तोडफोड, आगलागी भयो भन्ने खबर पाएपछि थप मद्दतको टोली खटिएको थियो। मद्दतका लागि गएको टोलीलाई घेरेर बन्दुक तानातान भएको भनेका छन्,’ एसपी धितालले भने, ‘त्यसक्रममा आत्मरक्षाका लागि गोली चलाएको भनेका छन्। हामी छानबिन गर्दैछौँ।’ 

उक्त घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला तानेसँगै निलम्बन गर्ने तयारीसमेत भइरहेको उनले बताए । स्थानीयले भने प्रहरी वरिष्ठ हवल्दार यादवले साहलाई ताकेर गोली प्रहार गरेको आरोप लगाएका छन् ।  

मृतक साहको शव उठाउन परिवार, प्रदर्शनकारी र प्रशासनबीच छलफल भइरहेको छ । सहमति हुन नसक्दा शव घटनास्थल मै राखिएको छ । निरन्तर छलफल भइरहेपनि सहमति हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनले बताए ।

मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।  

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:०५
Weather Update