News Griha :: न्यूजगृह
कोशीमा ‘जलन अस्पताल’ निर्माण हुने  

विराटनगर कोशी प्रदेशमा आगलागीमा परी घाइते भएकाहरूको उपचारका लागि जलन अस्पताल निर्माण प्रक्रिया तीन महिनाभित्र सुरु हुने भएको छ । 

आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको जलन अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो । 

ट्रष्टले इटहरी–११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ बिघा १० कट्ठा जग्गामा ५० शय्याको जलन र ५० शय्याकै सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो । 

Prabhu Bank

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता जनाएका छन् । 

प्रदेशका मुख्यमन्त्री कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रष्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म सम्भव हुन सकेको थिएन । मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर प्रक्रिया सुरु गरेका हुन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा भनिएको हो ।

ट्रष्टले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर अस्पताल, काठमाडौं मोडल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सातै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको उपचार, बोलीको तालिम लगायतको सेवा प्रवाह गर्दै आएको छ । 

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरु गरेको बताएका छन् । 

कार्कीले भने, ‘उर्लाबारीमा दिपावली मनाउने क्रममा भएको आगलागीका २५ जना घाइते र विराटनगरमा भएको आगलागीका ५ जना घाइतेको समयमा उपचार गर्न सकेको भए मानवीय क्षति कम हुने थियो,’ उनले भने, ‘आगलागीमा घाइते भएकाको समयमै उपचार नहुँदा उर्लाबारीका ८ र विराटनगरका ३ जना गुमाउन बाध्य भएकाले कोशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरु गरेका हौं ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:५२
Weather Update