पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना

काठमाडौं— पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप तनहुँको भीमादमा दुर्घटना भएको छ ।
भीमाद नगरपालिकाको मिर्छुलुङमा अर्को गाडीलाई साइड दिने क्रममा जीप सडकबाट तल खसेको हो ।
ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा सवार चालकसहित १२ जनालाई उद्धार गरिएको छ ।
घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रेफर गरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० ११:५४