३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं— ललितपुरको जावलाखेलस्थित इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
जावलाखेलस्थित स्टिल टावरको पछाडि एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।
ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘इनार नजिकै रूख रहेछ, इनारको ढक्कनमाथि लड्दा सिधै तल खसेछन्, रूख भएका घरधनीले तत्काल खबर गरेपछि हामीले उद्धार गर्न सकेका हौं ।’
हाछेथुका अनुसार इनारमा ३ फिट मात्रै पानी रहेछ । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए ।
‘उहाँको पिठ्युँ र पछाडिको भागमा चोट लागेको छ । उपचारका लागि पाटन अस्पताल पुर्याइएको छ । अस्पतालले उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ,’ हाछेथुले भने ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १९:४०