News Griha :: न्यूजगृह
जीप दुर्घटनामा आफन्त गुमाएका पीडितलाई तत्काल क्षतिपूर्ति दिन माग

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरू सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् । 

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लास समेत बुझेका छैनन् । 

‘अहिले पनि पीडित पक्षले आफूलाई न्याय पाउनका लागि क्षतिपूर्ति पाउनका लागि बाटोघाटो बन्द गरेर बसेका छन् । लासहरू बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन्,’ जोशीले भने, ‘त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत उनीहरूको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुखद घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले यस विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:०६
Weather Update