धनगढी— धनगढी उपमहानगरपालिका १८ की कल्पना बिकले आफ्नी छोरीलाई उपचार गर्न फूलवारीमा रहेको किसान लघुवित्तबाट २ लाख रुपैयाँ ऋण लिइन् ।
कहिले नेपाल कहिले भारतमा उपचार गराउँदै आएकी कल्पनाले छोरीलाई क्यान्सर भएको थाहा पाएपछि भरतपुर लगिन् । घरमा बिरामी श्रीमान् र बुढी आमा छोडेर छोरीको उपचारमा लागेकी कल्पनालाई थप उपचारको लागि पैसाको जोहो गर्नु थियो । तर, डाक्टरले उनको छोरी नरहेको कुरा सुनाएपछि होस् गुमाएकी कल्पना घर पुगेपछिका कुरा मात्र थाहा पाएको सम्झिन्छिन् ।
छोरीको लास लिएर घर गएकी कल्पनाले मन दह्रो बनाउँदै चित्त बुझाइन् । उनको छोरीको सद्गति गर्ने तयारी हुँदै थियो । अचानक उनको घरमा एक हुल मान्छे आए । उनले सोचिन्, सबै मलामी आएका होलान् । आफू अचेत अवस्थामा रहेको सुनाउँदै कल्पनाले भनिन्, ‘मैले त्यही हुलबाट एउटा आवाज सुने, पैसा नतिरी किन जलाउन दिने ।’
उनी अझ भावुक भइन् । छोरीको लास रुँगेर केहीबेर लघुवित्तको हिसाब चल्यो । समय मागिन् । तर, लघुवित्तले समय घर्केको भन्दै उल्टै केरकार गर्न थाल्यो । उनले भनिन्, ‘तपाईं पनि मर्नुस् कि ऋण तिर्नुस् भन्यो लघुवित्तले । पछि छिमेकी साथीहरूले तिरिदिएछँन् ।’
कैलालीको फूलवारीमा रहेको किसान लघुवित्तबाट ऋण लिएर छोरीको उपचार गरेकी कल्पनाले न छोरी बचाउन सकिन् न ऋण तिर्न नै । १८ लाख खर्च गरेर छोरीको उपचार गरेकी कल्पनाले सोही ऋण तिर्न नसक्दा सहुलियत दिन माग गर्दै आन्दोलनमा छिन् । उनले घरमा आयस्रोत केही नभएकाले ऋण तिर्न नसकेको बताइन् । ‘भएका बाख्रा पाठा सबै बेचेर ऋण तिरे, श्रीमान् पनि बिरामी हुनुहुन्छ । केही गर्नै सक्नुहुन्न, उहाँको पनि ठेगान छैन । नतिर्ने भनेको छैन कमसेकम भाका दिइयोस भन्ने हो’, उनले भनिन् ।
यस विषयमा किसान बहुउद्देश्यीय सहकारी संस्थाकी म्यानेजर दिलमाया थापा मगरले उनको छोरीको मृत्यु भएको थाहा नभएको कारणले त्यसो हुन गएको बताएकी छन् । ‘म पनि भर्खर आएको हो, पहिलाको सर हुनुहुन्न । मैले बुझेअनुसार उहाँहरूले घटना भएको थाहा नभएकाले त्यसो गरेको हुनसक्छ,’ उनले भनिन्, ‘पहिला के कसरी ब्याज उठाउनु भयो थाहा भएन तर, घटना हुँदा हामी त्यसो गर्दैनौँ ।’ उनले सहकारीका पुराना म्यानेजर र कर्मचारीले ब्याज उठाउन त्यसो गरेको हुनसक्ने स्वीकार गर्दै अब त्यस्तो नहुने बताइन् ।
लघुवित्त तथा सहकारी संस्थासँग नजोडिएका पछिल्लो केही समययता कोही पनि भेट्न सकिँदैन । कुनै न कुनै सहकारीमा महिला पुरुष दुवैको बाक्लो उपस्थिति छ । आर्थिक कारोबार गर्न सहज हुनुका साथै बचत गर्न सकिने सजिलो माध्यम बनेको छ सहकारी संस्था । गाउँगाउँमा खोलेका सहकारीले धेरैको जीवनस्तरलाई परिवर्तनसमेत गरेका छन् । तर, पछिल्लो समय लघुवित्तका ऋणीहरूको घरपरिवार तहसनहस भएका र ऋणीले आत्महत्याको बाटो रोज्नुपरेका अनेकन् घटना देखिन थालेको छ ।
ऋणको बदला छोरी
यस्तै, लघुवित्तको समस्या लम्कीचुहा नगरपालिका ९ खमरियाकी जानकी चौधरीलाई पनि छ । उनले घर नजिकैको आशा सहकारी संस्थाबाट २ लाख रुपैयाँ ऋण लिइन् । पहिलेको जस्तो पसलबाट कमाइ नभएकोले सहकारीसँग ऋण तिर्ने भाका माग्दा सहकारीका कर्मचारीले छोरी दिनुपर्ने सर्त राखेपछि घर छोडेर भाग्नु परेको बताइन् । सहकारीको ऋण तिर्न नसके आफ्नो छोरी लघुवित्तका कर्मचारीलाई दिनुपर्ने भन्दै धम्की दिएको जानकी सुनाउँछिन् ।
जानकी दुःखेसो पोख्छिन्, ‘किस्ता तिर्न नसकेपछि नवीकरण गर्नु भन्दै सावाँको डबल बनाएर नवीकरण गर्छन् ।’ अहिले ऋणको रकम उठाउन लघुवित्तका एजेन्टहरू घरमा आउँछन् । तर, ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका उनी भन्छिन्, ‘मलाई जेल लाने हो भने पनि लगोस् । छोराछोरी पनि सरकारले हेरिदेओस् ।’
ऋण तिर्न कलेज पढ्दै गरेको छोरीसँग मजदुरी गर्ने गरेको जानकी सुनाउँछिन् । ‘ऋण तिर्न सकिएन, घरमा बसिसक्नु छैन । उमेर पनि ढल्किँदै गएको छ,’ उनी पीडा पोख्छिन्, ‘हुँदा हुँदा मैले लिएको ऋणले गर्दा मेरो छोरीलाई ताक्न थाले । हामी अन्जान मूर्खलाई के थाहा । पढेको पनि छैन । यसरी भन्छ उसरी भन्छ । ब्याज कति पनि थाहा छैन । छोरीलाई सोध्दा २५ प्रतिशत लिएको छ भन्छिन् ।’
यस्तै, धनगढी उपमहानगरपालिका–११ की सीता चदराले घरमा सहकारीका कर्मचारीले उनको छोरीमाथि हातपात गरेको बताएकी छन् । आफू घरमा नभएको बेला घरमा गएर छोरीलाई थर्काउने गरेको उनले बताइन् ।
लघुवित्तका एजेन्टले दुईजनाका छोरीलाई कमलरी बनाउन मागेका थिए । त्यसमध्ये एकमाथि हातपात भएको हो । यसबारे प्रहरीमा उजुरी नदिन धम्की दिएको पीडितहरूले बताएका छन् ।
नेपालमा कमलरी राख्न पाइँदैन । १३ असार २०७० मा सरकारले कमलरी मुक्तको घोषणा गरेको थियो । यद्यपि, घोषणा भएपनि पूर्ण रूपमा अन्त्य हुन नसकेको र लुकाइछिपाइ राख्ने गरिएको मुक्त कमलरी उर्मिला चौधरी बताउँछिन् । यसविरुद्ध छुट्टै कानुनको माग गरेपछि बालबालिकासम्बन्धी ऐन अनुसार कारबाही हुने उनले बताइन् ।
ऋण पनि जबर्जस्ती, उठिबास पनि
धनगढी उपमहानगरपालिका–१९ की मथरादेवी सिंह लघुवित्त र मिटर ब्याजको ऋणले उनलाई सडकमा ल्याइपुर्याएको छ । कैलालीका १३ वटै स्थानीय तहमा लघुवित्तको ऋण तिर्न नसक्दा घर छोड्नेको संख्या धेरै छ । व्यक्तिलाई ठूलो रकम लगानीमा धितो राख्ने र समूह जमानतमा दिने एक लाख रुपैयाँसम्मको ऋण कुनै सदस्यले तिर्न नसक्दा समूहबाटै असुल गर्ने भएकाले यस्ता संस्थाबाट पीडित हुनेको संख्या बढ्दो छ । जिल्लामा गुराँस, छिमेकी, निर्धन उत्थान, साना किसान, एनआईसी र स्वावलम्बनसहित धेरै लघुवित्त संस्था सक्रिय छन् । मथराले पनि आफूले लिएको ऋण तिर्न नसक्दा आफ्नो उठिबास लागेको बताइन् ।
उनको घरको दैलोमा हरेक महिनाको १५ र २० गते लघुवित्तका कर्मचारी आइपुग्छन् । ‘दिनको एक सयको औषधि किन्नुपर्छ’, मथरा भन्छिन्, ‘बाँचेछौँं भने त तिर्ने हो ऋण, तर, यिनीहरूले धेरै बर्ष बाँच्न दिँदैनन् ।’ उनको गाउँमा मथराको जस्तै लघुवित्तको ऋण तिर्न धौ–धौ भएका अरु पनि परिवार छन् । ६ सयभन्दा बढी परिवारमध्ये अधिकांशको थाप्लोमा लघुवित्तसँगै गाउँका साहुको ऋण छ ।
यसरी नै ऋण लिएकी एक हुन् लक्ष्मी चौधरी । बैंकमा माइतीको जग्गा राखेर ट्र्याक्टर किनेकी उनले ब्याज तिर्न लघुवित्त रोजिन् । उनले ट्रयाक्टर किन्ने बित्तिकै लकडाउन भएपछि न पूरा बैंकको ऋण तिर्न सकिन् न लघुवित्तको ब्याज । ‘माइतीले लालपुर्जा चाहियो भन्दै फोन गर्छन्, आफ्नो बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ,’ उनले भनिन् ।
ऋण दिन अनिवार्य बीमा
जोशीपुर गाउँपालिका कि पार्वती चौधरीले ३ लाख रुपैयाँ ऋण लिएर व्यवसाय गरिन् । ३ लाखको हिसाब देखाए पनि उनले हातमा भने २ लाख ५० हजार मात्रै ऋण पाएकी थिइन् । ‘३ लाख रुपैयाँ ऋण निकालेकी थिए । ५० हजार खै के मा काटे । छोराछोरीलाई निःशुल्क पढाइ हुन्छ भनेर बीमा गर्न लगाए अरे,’ पार्वती भन्छिन्, ‘अहिले त अलग–अलग ठाउँबाट लघुवित्तका मानिसहरू घर घेर्न आउँछन् । तिमीहरूको छोराछोरीको भविष्य खत्तम हुने भयो । घर भत्काइदिन्छौँ ।’ पार्वती थप्छिन्, ‘सात पुस्तासम्म छोराछोरीको नागरिकता बन्दैन भन्छन् । बीमा अनिवार्य भन्दै छोराछोरी पढाउने भनेर बीमा गराए अहिले छोराछोरीको भविष्य खत्तम पार्छु भन्छन् ।’
‘हामीलाई कालोसूचीमा राख्ने धम्की दिन्छन् । कालोसूचीमा राखेपछि बृद्धभत्ता आउँदैन रे । भत्ता आएन भने म त औषधि खान पाउँदिन, कसरी बाँच्नु म । के को कालोसूची ?’ भावुक हुँदै उनी सुनाउँछिन् ।
लघुवित्तकाे ज्यादतीविरुद्ध १० वर्षकी बालिका आन्दाेलनमा !
जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि सडकको तातो भुईँमा भेटिएकी १० वर्षकी बालिका वार्षिक परीक्षा दिएर आन्दोलनमा छिन् । उनी अहिले लघु वित्तीय संस्थाविरुद्धको आन्दोलनमा छिन् । उनकी आमाले स्थानीय दुईवटा लघुवित्तबाट ऋण लिएर काम गर्न खोजिन् तर, काममा सफलता हात परेन ।
‘सधैँ भात पकाएर छोरीलाई स्कुल पठाउने बेला घर घेर्न आउँथे त्यस्तोमा स्कुल जान पनि सकिन छोरी, कसरी पास हुनु ? अब नयाँ भर्ना गर्ने बेला भयो एक रुपैयाँ छैन,’ चर्को घाममा पसिनाले भिजेकी उननी आमा निराश हुँदै भन्छिन् ।
लघुवित्त संस्था खारेजीसहित लघुवित्त संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाह गर्नुपर्ने, लघुवित्तको ज्यादती रोक्नुपर्ने र गरिब र किसानहरूलाई निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरूले धर्ना सुरु गरेका छन् । माग पूरा नभएसम्म अब पछि नहट्ने उनीहरूको अडान छ ।
लघुवित्त वित्तीय संस्थाविरुद्धको संर्घष समितिका प्रदेश सचिव दीर्घ अधिकारी मिटर ब्याजमा पैसा लिएर लघुवित्तको किस्ता तिर्दै आएको कारण पीडितहरू झनै पीडित बन्दै गएको बताए । सेवा र उत्पादनमूलक भएर आउनुपर्ने सहकारी नाफामूलक भएको भन्दै सचिव अधिकारीले लघुवित्त संस्था बन्द गर्नुपर्ने बताए । ‘घरघरमा गएर ८० हजार दिँदै एक लाखको तमसुक बनाउँछन् । उत्पादनसँग नजोडिएका महिलालाई प्रतिस्पर्धा गर्न तिर्न नसक्ने ऋणको भारी बोकायो यो तुरुन्त खारेज हुनुपर्छ,’ उनले भने, ‘लघुवित्त कार्यक्रम तीन तहका सरकारका माध्यमबाट चल्नुपर्छ भन्ने हाम्रो माग हो ।’
लघु वित्तीय संस्थाहरूले घरमै आएर अनावश्यक दुःख दिने, धम्क्याउने गरेका कारण पूरै परिवार नै प्रताडित हुनुपरेको पीडितहरूको गुनासो छ । लघु वित्तीय संस्थाहरूले बचतमा दिनुपर्ने कुनै सुविधा नदिने तर, ब्याज वृद्धि गरी पीडा दिने काम गरेकाले बाध्य भएर संघर्षमा उत्रनुपरेको उनीहरूको भनाइ छ ।