
काठमाडौं— यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र बिक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ ।
उत्पादन बिक्रीवितरणमा रोक लगाइपाउँ भन्दै परेको उजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निर्णय गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फुड्सले आफूविरुद्ध नियोजित भ्रम फैल्याएको दाबी गरेको छ ।
उद्योग विभागको फैसला चित्त नबुझेपछि सीजी फुड्स उच्च अदालत पाटन पुगेको थियो ।
पाटन उच्च अदालतले पनि विपक्षीले गरेको मागदाबीका सम्बन्धमा न्यायिक परीक्षण भई अन्तिम टुंगो लाग्न बाँकी रहेको भन्दै उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । तर 'उत्पादनमा रोक लाग्यो भन्दै' आफूविरुद्ध नियोजित भ्रम छरिएको यशोदा फुड्सले दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'पाटन उच्च अदालतले गरेको आदेशको अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको बिक्रीवितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्नमात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी बिक्रीवितरण मै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग, व्यापारी वर्ग तथा डिलरहरू समक्ष उक्त भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथा बिक्रीवितरण गरिरहन हुन समेत अनुरोध गर्दछौँ ।'