News Griha :: न्यूजगृह
सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसहित घुम्न गएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं—नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसँग घुम्न हिँडेको भन्दै पुनः आलोचना भएको छ ।

उनी गोरखामा छोरी तथा नातिनी, ज्वाइँसँग हेलिकप्टरको पृष्ठभूमिमा रहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो । भर्खरै वैवाहिक जीवनमा बाँधिएकी प्रचण्ड नातिनी र ज्वाइँसँगै खिचिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

उनले आफू सुशासनको पक्षमा रहेको भनेर राष्ट्रका नाममा सम्बोधन गरेकै दोस्रो दिन नेपाली सेनाको हेलिकोप्टर पृष्ठभूमिमा रहेको नवदम्पती नातिनी र ज्वाइँसहित सपरिवारको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिप्पणीसमेत भइरहेको छ ।

तर उनको सचिवालयले भने निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको जनाएको छ । प्रचण्डका निजी सचिव रमेश मल्लले यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशिश भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसँग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कम्जोर पार्ने कोशिश भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौँ ।’

यो पनि पढ्नुहोस

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:४३
Weather Update