News Griha :: न्यूजगृह
प्रधानमन्त्रीकी नातिनीको भड्किलो बिहे, कानुनले तोकेकोभन्दा धेरै सहभागि
तस्बिर : गंगानारायण श्रेष्ठको फेसबुकबाट ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी र भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरी प्रतिभा पाठकको शुक्रबार विवाह भएको छ ।

प्रतिभाको विवाह अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका गोरखा घर भएका विज्ञानबाबु रेग्मीसँग भएको हो । पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा १ हजार जनालाई निम्तो गरिएको थियो । उनीहरूबीच मंसिर १२ गते टीकाटालो भएको थियो । 

कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाह भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुख कै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको हो ।

विद्यमान कानुनले विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागि गराउन मिल्ने व्यवस्था गरेको छ । सामाजिक व्यवहार सुधार ऐन २०३३, ले जन्ती र बिहे भोजमा आमन्त्रण गरिने मानिसहरूको अधिकतम सङ्ख्या तोकेको छ ।

ऐनको दफा ७ मा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्त लैजान नहुने व्यवस्था छ । उक्त दफाले बाजागाजा प्रयोजनका लागि बोलाइने मानिसहरूको सङ्ख्या पनि ११ जना तोकेको छ ।

यो कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । त्यस्तै दफा ८ मा दुलाहा वा दुलही पक्षबाट आयोजित भोजमा पनि ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ । भोजमा बोलाइने मानिसहरू नजिकको नातेदार बाहेक ५१ जना भनिएको छ ।

भोजमा तोकिएको सीमाभन्दा धेरै बोलाउनेलाई २० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:१४
Weather Update