News Griha :: न्यूजगृह
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ, १ करोड लिएको आरोप

काठमाडौं— पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै पर्वत प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले भने, ‘हिजो-अस्ती उहाँ हाजिर हुनुभएको थिएन। बिदा पनि थियो। आज उहाँ हाजिर भएको थाहा पाएपछि हामीले लिएर आयौं ।’ उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वत प्रहरीलाई पत्राचार गरेको थियो ।

उनलाई आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । सर्वसाधारणले मित्र मिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए । 

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रुपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो । 

सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो । सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ ।

पराजुली २०६९ भदौ दोस्रो सातासम्म सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख थिए । सहकारी रजिष्ट्रारका रूपमा झण्डै २ वर्ष उनी पोखरा बसेका थिए । उनी रजिष्ट्रार भएकै बेला मित्र मिलन सहकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:२४
Weather Update