
रामेछाप— रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैयाँको क्षति बेहोर्नु परेको छ ।
किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् ।
स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रति केजी पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ । व्यापारीले काउलीको भाउ पाँच रुपैयाँ निर्धारण गरेपछि किसानले बिक्री गर्न छाडिदिएका हुन् ।
‘पाँच रुपैयाँ किलोमा त बारीबाट उठाएर प्याक गर्ने खर्च पनि पुग्दैन, मल, बिउ तथा मिहिनेतको त कुरा कता हो कता, त्यसले किसानले काउली बारीमा नै छाडिदिएका छन्,’ शेर्पाले भने ।
शैलुङ क्षेत्रमा पर्ने रामेछापको डडुवा, दोरम्बा र गौश्वारका किसानले ठूलो परिमाणमा व्यावसायिक रुपमा काउली खेती लगाएका थिए । त्यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका किसानले पनि काउली लगाएका छन् । दुवै जिल्लाका किसानको काउली अहिले बारीमा सडेर गएको छ ।
तिहार अघिसम्म प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भएको काउलीको भाउ स्वाट्टै घटको शेर्पाले बताए । भाउ नै नपाएपछि किसानले काउली सडाएर फाल्न बाध्य भएको उनको भनाइ छ ।
किसानले लगाएकोमध्ये २५ देखि ३० प्रतिशत काउली सडेर गएको उनले बताए । दुवै जिल्लाको गर्दा करिब एक करोड रुपैयाँ बराबरको काउली नास भएको शेर्पाको अनुमान छ ।
सरकारले कृषि बजार सुनिश्चित नगरिदिँदा किसानले नोक्सान बेहोर्नु परेको उनले बताए । ‘न बजारको ग्यारेन्टी छ, न प्रशोधन गर्ने कुनै उपकरण र सीप नै दिएको छ, किसानको लगानी त्यतिकै खेर गयो,’ उनले भने ।
शैलुङ आसपासका किसानले केही वर्षयतादेखि व्यवसायिक रुपमा तरकारी खेती लगाउँदै आएका छन् । शैलुङका किसानले सो क्षेत्रमा साग, काउली, बन्दा, गाजर, मुला, केराउ लगायतका खेती लगाउँदै आएका छन् ।