News Griha :: न्यूजगृह
आठ वर्षमा तीन पिलर मात्रै ठडिए 

कञ्चनपुर— कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा ८ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो ।

यस अवधिमा पुलका ३ पिलर मात्रै ठडिएका छन् । २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । 

‘पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएका छौँ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने। २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रहेको छ । 

‘हालसम्म १२ करोड भुक्तानी भइसकेको छ,’ उनले भने । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ,’ लालझाडी–४ का कृष्ण रानाले भने । 

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन् । स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० शुल्क तिर्ने गरेका छन् ।

बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:११
Weather Update