रसुवा नाकाबाट भित्रिएको दुई किलो सुन नागढुङ्गाबाट बरामद, ३ जना पक्राउ

काठमाडौं— नागढुङ्गाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागढुङ्गाबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
उनका अनुसार यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्युरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १२:५६













