News Griha :: न्यूजगृह
यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात

काठमाडौं— देशका केही भूभागमा बिहीबार हिमपात र वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्क हुन पनि विभागले आग्रह गरेको छ । 

आज बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । विभागका अनुसार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राती कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराईका थोरै भूभागहरूमा लागेको हुस्सु मध्यान्हसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ ।

हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०६:२६
Weather Update