
काठमाडौं— नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मङ्लबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
‘सक्छौ भने एनसेललाई राष्ट्रियकरण गर, सक्दैनौ भने लाचार बनेर यो सरकारको कुर्सीमा नबस, जबसम्म जनतासामु पारदर्शी तरिकाले एनसेल खरिदबिक्रीको विषयहरू बाहिर ल्याउँदैन । त्यो बेलासम्म विद्यार्थीले सडक छाड्ने छैनन्,’ उनले भने, ‘आज हामी यहाँ छौ भोलि सिंहदरबार र बालुवाटारमा जाने छौ । सरकारले समयमै यो विषयमा आफ्नो धारणाहरू स्पष्ट पारेन भने हामी जनताको बीचमा जान्छौ ।’
एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो । झन्डै २ खर्बको एनसेल सात अरबमा बेचिएको थियो ।