News Griha :: न्यूजगृह
उच्च तथा पहाडी जिल्लामा हिमपात : जनजीवन कष्टकर, किसान हर्षित

काठमाडौं— हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपात पछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।  सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए ।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उनले बताए । 

himpat-2-1701664375.jpg

 आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाईसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताउनुभयो । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इन्चभन्दा बढी हिमपात भएको छ । 

himpat-3-1701664374.jpg

 यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ ।

चिसोबाट बच्न स्थानीय आगो ताप्ने गर्छन । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

मुस्ताङमा पनि हिमपात

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

himpat-4-1701673948.jpg

बिहानैदेखि हिमपात भए पनि कार्यालयहरू सञ्चालन भएको उनको भनाइ छ । यातायातका साधन पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए । 

यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसकेको उनको भनाइ छ । बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए । 

himpat-6-1701673948.png

मान्ममा हिमपात

कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् । पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए। ‘गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ,’ उनले भने। 

मान्मको तल्लो भूभागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिम्खडाले जानकारी दिए । राससको सहयोगमा  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:१२
Weather Update