
काठमाडौं— नेपालमा युवाको उमेर घटाउने विषयमा छलफल सुरु भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिदै आएकामा अब युवाको १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतको भनाइमा सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर ५ वर्ष घटाउने छलफल सुरु भएको हो ।
‘संयुक्त राष्ट्रसंघ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ’, उनले भने, ‘१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।’
राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ । संयुक्त राष्ट्रसंघ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ ।
कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताए । विभिन्न देशमा युवाको परिभाषा पनि फरक-फरक रहेको छ ।
भारतमा १६ देखि २९, चीनमा १८ देखि ३५, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३०, जर्मनीमा १४ देखि २६, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षका उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेका छन् ।
नेपाल पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन सकिरहेको छैन । ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।













