News Griha :: न्यूजगृह
वडाध्यक्ष कै अगुवाइमा बाटो अवरुद्ध 

पथरी— मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अगुवाइमा बाटो बन्द गरिएको हो ।

२०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडी बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयले ढाड लगाएर बन्द गरेका छन् ।

पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ढिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् । आज मनमोहन गान्धी मार्गमा स्थानीयले ढाँट लगाएर बाटो अवरोध गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका, सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ । छँदाछँदैको कालोपत्र उप्काएर अलपत्र पारिएको बाटाका कारण स्थानीयवासीले लामो समयदेखि हिलो, धुलो  र खाल्डाखुल्डीको समस्या भोग्दै आएका छन् ।

निर्माण सुरु नभएसम्म बाटो अवरुद्ध गर्ने भन्दै  स्थानीयवासीले बाटैमा धर्ना दिएका छन् । बन्दकर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन । बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशानलय इटहरीले बताएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:५५
Weather Update