News Griha :: न्यूजगृह
गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण

रसुवा— पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ ।

मूल्यसूची नदेखाउने र बिलबिजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजार रुपैयाँका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र बिलबिजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको हो  ।  
अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थ लगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ ।  पेय पदार्थ लगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य  बृहस्पति तामाङले जानकारी दिए । 

चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनले बताए ।  बिलबिजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञवालीले बताए ।   यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:५२
Weather Update