News Griha :: न्यूजगृह
नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु

पर्सा— पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ ।

छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।  छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए ।

उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

लाठी प्रहारबाट टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:३६
Weather Update