
काठमाडौं— गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा धाँधली भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको छ ।
कात्तिक ३ को मध्यरातमा सम्पन्न सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको एक पक्षले आरोप लगाउँदै आएको बेला सीआईबीको अनुसन्धानले समेत मतदान प्रक्रियामा कैफियत भेट्टाएको हो ।
चुनावसम्बन्धी विवादमा संस्थापन समूहले धाँधली नभएको बरु पराजित समूहले अनावश्यक बखेडा मात्रै झिकेको दाबी गर्दै आएको छ । तर, सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानमा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
यो पनि पढ्नुहोस
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरू [प्रतिवेदनसहित]
प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठलाई उछिन्दै अध्यक्षमा डा बद्री केसी विजयी भएका थिए । तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौंमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए ।
निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै होहल्ला र नाराबाजीका कारण तनावमय बनेको एनआरएनएको ११ औँ महाधिवेशन स्थल होटेल सोल्टीमा महाधिवेशनका बाँकी प्रक्रिया समेत हुन पूरा हुन सकेको थिएन ।
विवादकाबीचमा केसीले अध्यक्ष पदको शपथ लिएका थिए भने लगत्तै शर्मा र श्रेष्ठ मिलेर सोही दिन नयाँ कमिटी घोषणा गरेका थिए । नयाँ कमिटी घोषणा गरेको असन्तुष्ट पक्षले सोही दिन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयका साथै सीआईबीमा निवेदन दिएको थियो । सीआईबीमा दिइएको निवेदनमा दोषीमाथि साइबर अपराधको मुद्दा चलाउनसमेत माग गरिएको छ ।
निवेदनपछि ब्युरोले अनुसन्धान टोली बनाएर कारबाही थालेको थियो । ब्युरोले एक महिना लामो अनुसन्धानमा भेटिएका तथ्यसहित प्रतिवेदन प्रधानमन्त्री कार्यालयका साथै सम्बन्धित निकायमा बुझाएको छ । तर, हालसम्म पनि प्रतिवेदन सार्वजनिक भएको छैन ।
यो पनि पढ्नुहोस
फुट्यो एनआरएनए, भयो तीन टुक्रा
सीआईबीको अनुसन्धान प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘ग्लोबल बाट मतदान गर्नेमा रजिस्टर्ड भई विश्व बराल र टीका कार्कीले आफूले मतदान नगरी नै निजहरूले सक्सेसफुल्ली मतदान गरेको म्यासेज प्राप्त भई कम्प्लेन गरे पश्चात् निजहरूको नामबाट नेपालमा मतदान गरी सकेको पाइएपछि उक्त पहिले गरेको मतदान रद्द गरी पुनः दोस्रो पटक निजहरूलाई मतदान गर्न दिएको देखिँदा निजहरूको नामबाट नेपालमा मतदान गर्ने व्यक्तिहरू आधिकारिक मतदाता हुन् वा अन्य व्यक्तिहरू हुन्, व्यक्तिगत रूपमा प्राप्त हुने आइडीलाई प्रयोग गरी अन्य व्यक्तिहरूले मतदान गरेको तथा नेपालबाट मतदान गर्नुपर्ने ९ को समेत ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको र ५ जनाको दुवै स्थानबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको पाइएकोले उक्त निर्वाचन निष्पक्ष तवरबाट नभई मेनुप्युलेसन (हेरफेर) भएको सम्भावना देखिएकोले कानुनी रूपमा भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन बाट मतदान गरेको स्थल निर्क्योल गर्नुपर्ने देखिन्छ ।’
अस्ट्रेलियन कम्पनी भेरो नामक अनलाइन सिस्टममार्फत पहिलो पटक एनआरएनएको निर्वाचन भएको थियो । विवादकै कारण सङ्घको नवीकरण समेत परराष्ट्र मन्त्रालयमा होल्ड छ ।














