News Griha :: न्यूजगृह
फुट्यो एनआरएनए, भयो तीन टुक्रा  

काठमाडौं— ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ । यद्यपि औपचारीक घोषणा हुन बाँकी नै छ ।

निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेको हो । काठमाडौंको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको छ ।

एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको बताए । ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ ।

शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । 

जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिबार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।

यससँगै एनआरएनए तीन टुक्रा हुने छ । १० औँ महाधिवेशनबाटै विनोद कुँवरको नेतृत्वमा अर्को एनआरएनए अस्तित्वमा छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १९:५४
Weather Update