
काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएका विद्रोही अध्यक्ष आर के शर्माले, संस्था बचाउनका लागि विद्रोह गर्नु परेको जिकिर गरेका छन् ।
११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रूपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो । सोमबार पत्रकारसँग विद्रोही समुहका अध्यक्ष शर्माले भने, ‘विद्रोह संस्था बचाउनका लागि हो ।’ उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत सम्पत्ति नभएको तर्क गरे ।
आफू पदका लागि नभएर परिस्थितिको कारणले संस्था रेस्क्यू गर्न केही साथीले नराम्रो मानेपनि अधिकांश साथीहरूको हितका लागि यो विद्रोह गरेको उनको दाबी छ ।
२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको सो पक्षको दाबी छ । पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ । उनी निर्वाचनमा विजयीसमेत भएका थिए ।