News Griha :: न्यूजगृह
आधुनिक हतियारसहित तीन जना पक्राउ

काठमाडौं— देशका विभिन्न स्थानबाट आधुनिक हतियारसहित तीन जना पक्राउ परेका छन् भने एकथान अटोमेटिक पेस्तोल र १३ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बसामाडी सरस्वरी पेट्रोलपम्प नजिकबाट म्याग्जिनसहितको अटोमेटिक पेस्तोल एकथानसहित सोही उपमहानगरपालिका–१२ पदमपोखरी भोर्ले बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पैदल हिँडिरहेको अवस्थामा पेस्तोलसहित पक्राउ गरेको हो ।

सुर्खेतको  भेरीगंगा नगरपालिका–६ घारीवन बस्ने ७३ वर्षीय शशी डाँगीलाई भरूवा बन्दुक एकथानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले डाँगीको गोठमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङको गढवा गाउँपालिका–८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मानसिंह सुनारलाई भरूवा बन्दुक एकथानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोइलाबास, इलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–१४ स्थित च्यानडाँडा जंगलबाट भरूवा बन्दुक एकथान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी फुलासीबाट खटिएको गस्ती टोलीले देख्नासाथ २ जना अपरिचित व्यक्तिहरुले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

रूकुमको पूर्वको भूमे गाउँपालिका–५ भेडाखर्क जंगलमा बेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १० थान र बन्दुकको नाल १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:३२
Weather Update