
काठमाडौं— शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् ।
मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका एक युवकले काठमाडौंको ताहाचलमा आत्महत्या प्रयास गरेका हुन् ।
आफूले उक्त अटो वर्कशपलाई २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए ।
दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।
‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्यो..,’ उनले लाइभमा भनेका छन् । उनले दुर्गा प्रसाईँले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जीवितै उद्धार गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।