News Griha :: न्यूजगृह
बर्दिबासमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै  

महोत्तरी— महोत्तरीको बर्दिबास नगरपालिका वडा नं.६ का वडा अध्यक्ष पदम आलेमगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।

वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०/१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०/१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाइ अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।  ज्यान गुनाउनुको एउटै कारण  ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरुले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामबाबु यादव बताउँछन् ।

जिल्लाभर नै सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सातदिने सूचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैं डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:३०
Weather Update