
काठमाडौं— दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा पशुपति खडका, मुनेन्द्र राजभण्डारी, सतिश न्यौपाने, अनुप शाही र आवास खड्का छन् । प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ ।
प्रसाईँपक्षले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नभएको ठाउँमा प्रदर्शन गरे कारबाही गर्ने बताएको छ ।
बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रसाईँले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।
त्यसक्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली समेत चलाएको थियो । त्यस्तै, प्रहरीले दुर्गा प्रसाईँलाई घरमै नजरबन्दमा राखेको छ ।













