News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गरी आत्महत्या

झापा— झापाको भद्रपुर नगरपालिका– १ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमानले झुन्डिएर आत्महत्या गरेका छन् ।  

भद्रपुर– १ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिताबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासले समेत झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  

बिहीबार बिहान स्थानीयले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । ‘दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमानश्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ,’ उनले भने, ‘सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’  

रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, “शव परीक्षणका लागि पठाएका छौँ । रिपोर्ट आएपछि थप जानकारी आउँछ ।’ 
सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको रिजालले बताए । उनका अनुसार श्रीमानश्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरूका तीन छोराछोरी छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:०८
Weather Update