
काठमाडौं— काठमाडौंको न्यूनतम तापक्रम मंगलबार बिहान १० डिग्री सेल्सियसमा झरेको छ ।
५:४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
'केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,' मौसमविद् प्रधानाङ्गले भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।
'तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ,' उनले भने ।
केही हप्तायता उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुँदै आएको छ । तर भारी हिमपात सुरु भइसकेको छैन । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही क्षेत्रमा हल्का हिमपात हुँदै आएको छ ।