
काठमाडौं— प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ ।
समिति सचिव सुरजकुमार दुराका अनुसार ज्ञवालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन् । समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’ अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको उनले बताए ।
उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी उजुरीकर्ताको छ ।
यो पनि पढ्नुहोस
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन्
यो विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलेसमेत छानबिन गरी एआईजी ज्ञवालीलाई सफाइ दिइसकेका छन् ।
सर्वोच्च अदालतले पनि आधार पुष्टि हुने न देखिएको भनेर फैसला गरिसकेको छ । यस्तो अवस्थामा उजुरीकर्ताले राजनीतिक प्रभावमा परेर संसदीय समितिमा उजुरी दिएको समेत विश्लेषण हुन थालेको छ । ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख थिए ।
उनको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणसहितका व्यक्तिहरू पक्राउ परेका थिए । खाणलाई पक्राउ गरेको र कांग्रेस सभापति शेरबहादुर पत्नी आरजु राणामाथिसमेत अनुसन्धान गर्न लागेको भन्दै ज्ञवालीलाई सरुवा गरिएको थियो ।