News Griha :: न्यूजगृह
लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीका डीएसपीसहित ३ जना घाइते, ४ पक्राउ
Photo: Social Media

काठमाडौं— काठमाडौंको शंखरापुर नगरपालिका- ३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् ।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रूख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

त्यसक्रममा डीएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।

सुरक्षाकर्मीहरूमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ११:१६
Weather Update