
काठमाडौं— नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० का २४ वर्षीय शेरबहादुर थारू, कोहलपुर नगरपालिका-१ कौशीलानगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापाको मेचीनगर नगरपालिका-८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान छन् ।
गत कात्तिक २२ गते काठमाडौं नयाँबानेश्वरस्थित आई प्लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए । अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतिको प्रयोग गरिएको एसपी ढुंगेलले बताए।
उनकाअनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ। बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए। पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ।
खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए। बर्तौलालाई शेरबहादुरले पछाडिबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए । आक्रमणपछि दुवै जना भागेका थिए ।
शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए । कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए ।
शेरबहादुर र आशिषलाई इलाम पुर्याउन टेकबहादुर प्रधानले सहयोग गरेका थिए । त्यसबापत उनले रकम लिएका थिए । यस्तै उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटकपटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। चोरी तथा डाका, हातहतियार खरखजाना, लागूऔषध र ज्यानसम्बन्धी उद्योग जस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।