
कैलाली— ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् ।
गत कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा असई रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । दार्चुलास्थित नम्बर ४३ गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो । तिहारको बिदामा उनी धनगढी पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार अस्पतालको सीसीटीभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिन्छ । महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो ।
सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ ।