News Griha :: न्यूजगृह
आजदेखि सबै सरकारी कार्यालय खुला, चहलपहल कम

काठमाडौं– हिन्दूहरूकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ  । 

तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो । 

आज (शुक्रबार) मङ्सिर १ गते कार्यालय खुले पनि भोलि (शनिबार) बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार तिहारको बिदापछि आजदेखि सबै सरकारी कार्यालय सञ्चालनमा आएका हुन् । 

लामो बिदापछि कार्यालय खुले पनि केही दिनभित्रै छठ पर्व पनि परेकाले कतिपय कर्मचारी छठ सकेर मात्र आउने गरी बिदामा बस्दा कार्यालय भने प्रभावकारी रूपमा सञ्चालन भएको पाइएन । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने बैंक, मालपोत, सडक र विद्युत् कार्यालयमा केही चहलपहल देखिन्थ्यो भने अन्य कार्यालयमा नगन्य रह्यो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल सामान्य छ । तिहारको पाँच दिनपछि कार्यालय खुलेपछि केही कार्यालयमा भने सेवाग्राहीको चहलपहल देखिन्थ्यो । 

कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून रह्यो । तिहार र छठको निरन्तर बिदा परेकाले पनि कार्यालय सुनसान प्रायः देखिन्थे । सेवाग्राही पनि थोरै सङ्ख्यामा मात्र कार्यालय पुगेका छन् । 

तिहारको माहोल सकिएर अहिले देशभर छठ पर्वको रौनक छाएको छ । सङ्घीय राजधानी काठमाडौं उपत्यकाका साथै तराईलगायत क्षेत्रमा छठ पूजाका लागि  आवश्यक तयारी गरिएकोे छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:२५
Weather Update