जाडो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

हुम्ला– हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ ।
चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा-६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट स्थान्तरण गरिएको हो ।
सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।
उनले भने, ‘गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।’
नाम्खा गाउँपालिका-६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।
उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० ११:०७