News Griha :: न्यूजगृह
बालेनलाई गृहमन्त्रीले भने–तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुनुपर्‍यो

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई औचित्य पुष्टि हुने गरी काम गर्न र त्यसका लागि संघीय सकारसँग सवन्वय गर्न आग्रह गरेका छन् ।

मेयर साहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि गृहमन्त्री श्रेष्ठले सोमबार विहान चितवनमा सञ्चारकर्मीसँग बोल्दै कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले भने,‘स्थानीय वा प्रदेश सरकारले यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर हुँदैन । यसबारे महानगर मेयरलाई प्रष्ट भनेको छु । तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी निष्कर्षमा पुग्न पर्‍यो नि ! तपाईं आफैंले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौं । तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा अघि बढ्नुपर्छ ।’

प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार मद्दत गर्न प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:१६
Weather Update