News Griha :: न्यूजगृह
किन आक्रोशित छन् बालेन साह ?  

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालबाट सरकार मात्र नभई उनीमाथि आलोचना वा टिप्पणी गर्ने जो कोहीप्रति आक्रोश पोखिरहन्छन् । वर्तमान राजनीतिक व्यवस्था, नेताहरूको कार्यशैली र चरित्रमाथि उनी सञ्जालमार्फत प्रश्न गरिरहन्छन् । पछिल्लो समय उनको आक्रोश झन् बढेको छ ।

उनले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्ट्याटस लेखे,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँको नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ नभन्दै दुई दिनदेखि सिंहदरबार, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय र मन्त्री क्वाटरको फोहोर उठेको छैन ।

शुक्रबार मेयर बालेनको निर्देशनमा महानगर डोजर लिएर गैह्रीगाउँको सुकुम्बासी बस्ती भत्काउन जाँदै थियो । महानगरले सात वटा डोजर लिएर आउन लागेको थाहा पाएपछि स्थानीयले टायर बालेर र काँडेतारसमेत लगाए । त्यसबेला महानगरको नगर प्रहरी टोली मीनभवनस्थित यातायात कार्यालय परिसरमा तयारी अवस्थामा थिए । उक्त घटनामा केन्द्र सरकारले सहयोग नगरेपछि बालेनले सो स्ट्याटस लेखेको बुझ्न गाह्रो छैन ।

यसअघि पनि महानगरले फोहोर व्यवस्थापन र सुकुम्बासी बस्तीमा डोजर चलाउँदा केन्द्र सरकार र प्रदेश सरकार मौन बसेका थिए । महानगरको काममा केन्द्र र प्रदेश सरकारले सहयोग नगरेपछि उनले सामाजिक सञ्जालबाट आफ्नो रिस पोख्ने गरेका प्रशस्त उदाहरण छन् ।

बालेनले मौन ढंगले वर्तमान राजनीतिक व्यवस्थाप्रति आमनागरिकलाई उत्तेजित बनाउने काम गरेको भन्दा अतिशयोक्ति नहोला । केही साताअघि उनले एउटा स्ट्याटस लेखेका थिए । ‘भारत र चीनले बनाएको सरकारको कुनै इज्जत गर्दिनँ म । नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कैले बनाउने ? लाज लाग्दैन ?’ उक्त स्ट्याटस उनले पछि हटाए । तर स्क्रिनसर्ट भने सजिलै भेटिन्छ । उनको यस्तो स्ट्याटसले वर्तमान राजनीतिप्रति आमनागरिकमा नकारात्मक धारणा बनाउन प्रेरित गरेको मात्र  छैन यसले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामाथि नै प्रश्न पनि उठेको छ ।

सार्वजनिक पदमा बसेका युवा नेतृत्वले यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदा त्यसले दीर्घकालीन असर कस्तो पर्ला ? त्यसले जनतको मनस्थिति, उनलाई पछ्याउने युवापुस्तामा राज्य र यसका नेतृत्वप्रति कस्तो दृष्टिकोण बन्ला ? बालेनको आधिकारिक फेसबुक पेजमा १.२ मिलियन फलोअर्स छन् भने उनले ३०४ जनालाई फलो गरेका छन् । उनले स्ट्याटस लेखेपछि हजारौँ प्रयोगकर्ताले कमेन्ट गर्छन् ।

बालेन मात्रै होइन राजनीतिक खपतका लागि शीर्षस्थ नेताहरूले पनि बेलाबखत विदेशी प्रभू, उत्तरतर्फ ढल्केको, दक्षिणको नुन खाएको जस्ता कुरा सार्वजनिकस्थल र मिडियामा बोलिदिँदा त्यसले व्यवस्थाप्रति र तिनै नेताहरूप्रति जनताको धारणा कस्तो बन्ला ? त्यो सोच्न जरुरी छ ।

यसैगरी बालेनले एसइई परीक्षालाई लक्षित गर्दै एउटा स्ट्याटस लेखेका थिए, ‘आजको अंग्रेजीको परीक्षा कस्तो भयो ? राम वेन्ट अब्रोड (राम विदेश गयो) या अब्रोड एट राम (विदेशमा रामको अस्तित्व मेटियो) । उनको यो स्ट्याटस वर्तमान शिक्षा प्रणाली र सो प्रणालीबाट जन्मेका युवाहरू रोजगारीको लागि विदेशिन बाध्य हुनु परेको तितो यर्थाथलाई टिप्पणी गरेको बुझ्न सकिन्छ ।

नेपालको शैक्षिक अवस्थालाई लिएर चुनावी अभियानमा समेत उनले प्रश्न उठाउँदै आएका थिए । केही समयअघि उनले आफ्नो मेयर पद धरापमा रहेको भन्दै स्ट्याटस लेखेका थिए । ‘मेयर पोजिसनबाट मलाई राजीनामा दिन लाउन खोजिदैछन् । यो देश कहिले पनि बन्दैन,’ उनले भनेका थिए ।

सो अभिव्यक्तिपछि किन र कसले उनलाई राजीनामा दिन बाध्य पार्दैछ भनेर उनले कतै भनेका छैनन् । तर बालेन स्वतन्त्र उम्मेदवार भएकोले उनीसँग कुनै पनि राजनीतिक दलले राजीनामा माग्न सक्दैन । फेरि त्यसबेला महानगरमा न कर्मचारी तथा वडाध्यक्षहरूले आन्दोलन गरेका थिए भने न राजीनामा नै मागेका थिए ।

balen and gov1681090779.jpg
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । फाइल तस्बिर ।

१० पुसमा बालेनको अर्को एउटा राजनीतिक व्यंग्यको स्ट्याटसले सबैको ध्यान तानेको थियो । ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधैं सास्तीमा,’ उनले भनेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै आएको उनको सो स्ट्याटसको आशय बुझ्न त्यति गाह्रो छैन । त्यसबेला प्रचण्ड नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी गरी आठ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

तर सोचनीय के हो भने उनले प्रयोग गरेको शब्द ‘प्रजा’ ले ठूलो अर्थ राख्छ । दुई सय वर्षभन्दा लामो समय चलेको शाहवंशीय राजसंस्था ज्ञानेन्द्र शाहलाई सत्ताबाट फालिएसँगै २०६४ सालमा अन्तरिम व्यवस्थापिका–संसद्बाट नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ घोषणा गरियो । तर राजतन्त्रको जरोदेखि उखेल्ने काम भने १५ जेठ २०६५ मा संविधानसभाका सदस्यले मतदानमार्फत गरे ।

राजतन्त्रमा राजालाई विष्णुको अवतार मानिन्छ र जनतालाई प्रजा सम्बोधन गरिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार प्रजाको एक अर्थ ‘राजाद्वारा शासित देशका जनता तथा रैती’ पनि हो । तसर्थ प्रजासँग राजाको विरुद्धमा बोल्ने, राजाले गलत गरेमा प्रश्न उठाउने अधिकार हुँदैन । तर के बालेन आफूलाई प्रजा ठान्छन् ? के उनी पनि यो व्यवस्था ठिक छैन भन्दै राजा फर्काउन चाहन्छन् ? होइन भने उनी आफूलाई हामी प्रजा भन्दै किन सम्बोधन गरिरहेका छन् ? उनको यो स्ट्याटसले राजा चाहिन्छ भन्ने दब्बिएको स्वरलाई मद्दत मात्र पुगेको छैन, वर्तमान राजनीतिक दुरावस्थाप्रति चुलिँदै गएको जनताको गुनासोलाई बबन्डर बनाउन सहयोग पनि पुगिरहेको छ ।

गत मंसिरमा सम्पन्न आमनिर्वाचनको नतिजामा नयाँ राजनीतिक दलहरूले अर्थपूर्ण जनमत पाएका थिए । नयाँ राजनीतिक शक्तिलाई प्रहार गर्दै बालेनले एउटा स्ट्याटस लेखे, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पुरानो देश । उही पुराना व्यापारीहरू ।’

उनले आफ्नो आक्रोशमा कसैलाई बाँकी राखेका छैनन् । केही समयअघि महानगरले थापास्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा तमासा गरियो भन्दै मिडियामा बोलेका थिए । जवाफमा बालेनले लामो स्ट्याटस लेख्दै ओलीलाई ‘दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे,’ भन्दै व्यंग्य गरेका थिए ।

‘तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता मासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन । सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’ उनले ओलीलाई भनेका थिए ।

यस्तै बालेनले अमेरिकी राजदूतलाई भेटेको समाचार बाहिरिएपछि पूर्वरक्षामन्त्री भीम रावलले मेयरले परराष्ट्रबाट अनुमति लिएर भेटे कि भेटेनन् भन्दै सामाजिक सञ्जालबाट प्रश्न गरेका थिए । जवाफमा बालेनले लामो स्ट्याटस लेख्दै ‘अमेरिकी राजदूतले हामीसँग पटकपटक भेट्न खोज्दा हामीले चाहिँ बरू उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेको र अनुमति लिएर आएपछि मात्र भेटेको’ बताएका थिए । उनले हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन भन्दै रावलमाथि नै व्यंग्य प्रहार गरेका थिए ।

सञ्चारकर्मीको प्रश्नमा जवाफ नदिने तर फेसबुकमा राजनीतिक र सामाजिक मुद्दामा टिकाटिप्पणी गरिरहने बालेनले मेयर भएपछि आफ्नो ओहदाको ख्याल नराखेको राजनीतिक विश्लेषक बताउँछन् । स्थानीय सरकार ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ अनुसार सञ्चालन हुन्छ । तर कानुनसंगत नचल्दा मेयर साह बेलामौकामा समस्यामा पर्ने गरेका छन् ।

यस्ता अनावश्यक विषयमा टिकाटिप्पणी गर्दा सरकारले मेयरको मर्यादाक्रम नै घटाइदिएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.रेशम थापाको भनाइ छ । भन्छन्,‘अनावश्यक कामकुरा गर्दा महानगरको मेयरको मर्यादाक्रम घटेको छ । यसले विश्वविद्यालयका पदाधिकारीहरूको मर्यादाक्रम समेत घटेको छ ।’

सरकारले गएको करिब पाँच महिनाअघि बालेनले एअरपोर्टको पछाडिको गेट भत्काउने प्रयत्न गरेका थिए । उनले सार्वजनिक रूपमै सो गेट भत्काउने भनेका थिए । नेपाली सेनाले संरक्षण गरिरहेको उक्त क्षेत्रको गेट भत्काउने भनेपछि निकै विवाद भएको थियो ।

सरकारले राष्ट्रिय क्षेत्रमा रहेका विभिन्न मानिसहरूको मर्यादाक्रमको सूची बनाउने गर्छ । जसमा संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक स्वीकृत भएको थियो । ३ चैत्रमा दर्ता भएको विधेयकले १५औँ स्थानमा महानगरपालिका प्रमुख (आफ्नो महानगरभित्र) भन्दै जिल्ला समन्वय समितिको प्रमुखसँगै राखेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरको मर्यादाक्रम १०औँ स्थानबाट झरेर अन्य महानगरपालिका प्रमुखसँगै राखिएको हो । मर्यादाक्रमको १८औँ स्थानमा महानगरपालिका प्रमुख (आफ्नो महानगर बाहिर) र महानगरपालिका उपप्रमुख राखिएको छ । यसैगरी १३औँ स्थानमा रहेका विश्वविद्यालयका प्राध्यापकलाई १७औँ स्थानमा राखिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०८:१५
समसामयिक
Weather Update