News Griha :: न्यूजगृह
प्रधानमन्त्री र गृह मन्त्रीसँगको तस्बिर राखेर बालेन भन्छन्– समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस्

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरसँग सरकारले समन्वय नगरेको बताएका छन् । सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै सिंहदरबारको फोहोर नउठाइएको साहले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ताको तस्बिरसमेत राखेर आइतबार बिहानै फेसबुकमा साहले लेखेका छन्,‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाव आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

केही दिनदेखि काठमाडौं महानगरले सिंहदरबारको फोहोर उठाएको छैन । केन्द्र सरकारले नजिकैको स्थानीय सरकारसँग पनि समन्वय नगरेको मेयर साहको भनाइ छ । सरकारले समन्वय नगर्दा महानगरले उठाएका जनजीविकाका मुद्दा पनि अगाडि नबढेको पनि साहले बताए ।

उनी प्रश्न गर्छन्,‘५०० मिटर नजिकैको स्थानीय सरकार (महानगर) का कुरा त सुनेको नसुनै हुन्छ । दूरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

मेयर साहले स्थानीय समस्या स्थानीय सरकारले नै समाधान गर्न सक्नुपर्ने बनाउनुपर्नेमा पनि जोड दिएका छन् । ‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भने, ‘देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस् ।’

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०७:२४
Weather Update